कारागार भित्र हत्या भएको परिवारको दाबी

   ३ मंसिर २०७८, शुक्रबार ११:२७  

३ मंसिर, रौतहट । बुधवार दिउँसो गौर कारागारमा झुण्डीएर मृत्यु भएको अवश्थामा फेला परेका देवाही गोनाही नगरपालिका ७ का २४ वर्षिय लडाई साहको हत्या भएको परिवारजनले आरोप लगाएका छन ।

अपहरण तथा शरिर बन्धक र जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका साह बुधवार दिउसो १.५० बजेको समयमा शौचालयमा तौलियाको पासो लगाएर झुण्डीएको अवश्थामा फेला परेका थिए । मृतकका परिवारजनले भने साहको हत्या गरेर झुण्डयाएको आरोप लगाउदै बिहिवार जिल्ला प्रहरी कार्यालय र गौर कारागारलाई घेराउ गरेर प्रदर्शन गरेका थिए ।

श्रीमानाको हत्या भएकोले दोषीलाई कारवाहीको माँग गर्दै मृतककी श्रीमती सिमा देवी साहले भनिन “उनलाई कारागारका नाइकेहरुले मारेका हुन ।” अदालतमा मुद्दा चलिरहेकोले आत्महत्या गर्नुपर्ने कारण नरहेको निजको श्रीमती साहको तर्क छ । घटनाका बारेमा सत्यतथ्य पता नलागेसम्म आफूहरुले शव नबुझ्ने परिवारजनले बताएका छन ।

कैदी झुण्डीएको खबर पाए पछि कारागार प्रशासनले उनलाई तुरुन्त जिल्ला अस्पताल गौरमा लगेको तर अस्पतालले सोही समय साहलाई मृत घोषणा गरेको कारागार प्रमुख शम्भु प्रसाद यादवले बताएका छन ।

देवाही गोनाही नगरपालिका वडा नम्वर ७ घर भएको २४ बर्षिय केदी साह विरुद्ध अपहरण शरीर बन्धक तथा जवरजस्ती करण मुद्दामा जिल्ला अदालत गौरले २०७६ साल बैशाख ४ गते लडाइ साहलाई पुर्पक्षको लागि गौर कारागार चलान गरेको थियो । उनको बुधवार उच्च अदालत विरगंजमा पेशी समेत रहेको थियो ।

घटनाका बारेमा मानवअधिकार आयोगले पनि चासो लिएको छ । आयोगको प्रादेशिक कार्यालय जनकपुरको एक टोलिले कारागार निरिक्षण गर्दै घटनाका बारेमा कारागारका नाइके विक्की सिंह सहितका व्यक्तिहरुसँग सोधपुछ गरेको छ ।

कारागारमा कैदी बन्दीको मृत्युका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहट प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले बताए । पोष्टमार्टमको रिपोर्ट पछि घटनाका बारेमा थप कुराहरु स्पष्ट हुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।