दुर्गाभगवति गाँउपालिकामा भ्रष्टाचार,

   १ मंसिर २०७८, बुधबार १२:०७  

१ मंसिर, रौतहट । रौतटहको दुर्गा भगवती गाउँपालिकाले गोप्यरुपमा झण्डै २३ करोडको टेन्डर निकालेको छ ।

खरीद निर्देशिका २०७४ को दफा ३५(१) मा दुई करोड भन्दा माथिको ठेक्का पट्टामा विद्युतिय प्रणालीबाट गर्नु पर्ने उल्लेख रहेकोमा गाँउपालिकाले गोप्य तरिकाले बोलपत्र निकालेको हो ।

दुर्गा भगवति गाँउपालिकाका अध्यक्ष अरुण साहले २०७८ भदौं २५ गते निकालेको २३ करोडको बोलपत्र सम्बन्धि सूचना गोप्य तरिकाले प्रकाशित गर्न लगाएका थिए । सो बोलपत्र कुन राष्ट्रिय मिडियामा प्रकाशित भएको छ भन्ने बारेमा समेत कसैले थाहा पाएका छैनन । अगामी बर्षको बजेटबाट समायोजन गरिने भन्दै करोडौंको टेन्डर हतार हतारमा गाँउपालिका अध्यक्ष साहले निकालेका हुन ।

बजेट टुक्राउन नपाउने शिर्षकबाट समेत रकम विनियोजन गर्दै अध्यक्ष साहले निकालेको टेन्डर निमित्त प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले ब्याक मितीमा हस्ताक्षर गर्न नमान्द उनलाई डरत्रास देखाएर सदर गराउने प्रयास अध्यक्ष साहले गरेका थिए । अधिकृत पाठकले टेण्डर सदर नगरे पछि कार्यपालिकाको निर्णय भन्दै अधिकृत फेर्न उनी मन्त्रालयमा पुगेका थिए ।

अध्यक्ष साहले आव्हान गरेको करोडौंको बोलपत्र प्रशासकिय अधिकृतले सदर गर्न नमाने पछि गाँउपालिका अध्यक्षले अर्को प्रशासकिय अधिकृत ल्याउने तयारी गरेका छन । टेण्डर स्वीकृत नहुदै लाखौंको हयाण्ड पाइप लगायतको सामग्री अध्यक्ष साहकै घरमा थुपारिएको छ । गाँउपालिका अध्यक्षले चरम भ्रष्टाचार गरेको भन्दै सोही गाँउपालिका १ गंगापिपराका सुनिल सिंहले अख्तीयार दुरुपयोग अनुसन्धान सहित विभन्न निकायमा उजुरी गरेका छन । गाँउपालिकामा अध्यक्ष निर्वाचित भएर आएर देखि साहले विभिन्न शिर्षकमा व्यापक रुपमा आर्थिक अनियमितता भएको भन्दै सिंहले लिखित उजुरी गरेका हुन ।

नियमकानुनलाई मिच्दै अध्यक्ष साहको निर्देशनमा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु विकास निर्माणको लागि आएको रकम विनाकारण अन्य शिर्षकमा रकम विनियोजित गरेर चरम आर्थिक दुरुपयोग गरिएको उक्त उजुरी पत्रमा उल्लेख गरिएको छ । त्यती मात्रै नभई चालु आर्थिक बर्ष २०७८÷०७९ मा विना सूचना आहवान गरिएको २३ करोडको बोलपत्रलाई आफनै मान्छेलाई दिने तयारी गरेको आरोप समेत लागेको छ ।

समाजिक सुरक्षाको रकम विगत तिन आर्थिक बर्षमा ५० प्रतिशत व्यक्तिको नाममा नक्कली ल्याप्चे छाप लगाएर करोडौं रकम हिनामिना गरेको हुँदा उक्त कार्यहरुको अनुसन्धान गरी दोषिहरुलाई कानुन बमोजिम हदै सम्मको कारवाहीको गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीको कार्यालय, मुख्यमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख साह विरुद्ध उजुरी परेको छ ।

गाँउपालिकाको विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको प्रमुख प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए । दर्ता भएको उजुरीसँग सम्बन्धीत कागजातहरु आवश्यक छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाईसकेको उनले बताए । अख्तियारले छानविन गर्ने भएको हुँदा अनुसन्धान तथा प्रशासनीक कार्यमा सहयोग पुर्याउने प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी बताए ।