कार दुर्घटनामा मृत्यु भएका चार जनाकै सनाखत

   २८ कार्तिक २०७८, आईतवार १२:१२  

२८ कार्तिक, राैतहट ।  गएराति रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको झुन्खुन्वामा कार दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान खुलेको छ ।

राति १० बजे युके १२ सि २९०० नम्बरको कारमा अनियन्त्रित भएर दुर्घटना हुदा चार जना भारतीय नागरिकको ज्यान गएको थियो । मृत्यु हुनेमा भारत विहार राज्यको पुर्वी चम्पारण जिल्ला पताही थाना वेतौना गाँउमा घर भएका २८ वर्षिय अरुण साह, ३० वर्षका दिनानाथ साह, २८ वर्षका अमित महतो २७ बर्षिय दिलिप महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले बताए ।

मृतकको खल्तीमा रहेको भारतीय आधारकार्डबाट उनीहरुको परिचय खुलेको तथा भारतीय प्रहरीको सहयोगमा परिवारजनले समेत शवको पहिचान गरेको एसपी घिमिरेले बताए । मृतकका परिवारजनले जिल्ला अस्पतालमा राखेको शवको सनाखत गरेको उनले बताए ।

देवाही गोनाही नगरपालिका ४ मा आफन्तको घरमा आएका उनीहरु अबेर राति भारत फर्कदै थिए । भिनाजु नरेश साहको घरमा आएका उनीहरु खानपिन पछि भारत फर्कदै गर्दा यमुनामाई गाँउपालिकाको झुन्खुन्वा सडकखण्डमा दुर्घटनामा परेका थिए ।

“गाडी खसेको आवाज पछि बम नहरमा रहेको प्रहरी टोली तत्काल उद्धारमा खटिएको थियो ।” एसपी घिमिरेले भने “चोट लागेर भन्दा पनि उनीहरुको गाडी खाडलको पानीमा खसेपछि डुबेर ज्यान गएको छ ।” घटनास्थलमा राति नै पुगेका उपरिक्षक घिमिरेले चारै जनालाई अस्पताल पठाए पनि चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।

यो पनि पढनुस :

गाैर- चन्द्रपुर सडकमा दुर्घटना हुदाँ ४ जनाकाे मृत्यु

http://thenepalmedia.com/news/23616/