सत्तारुढ नेपाली कांग्रेसको बैठक बस्दै
२७ कात्तिक, रौतहट । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बीच बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बैठक बस्ने देउवाको सचिवालयले जनाएको छ ।
बैठकमा आइतबार बस्ने पार्टीको केन्द्रीय समिति बैठकको तयारी र पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफल गर्ने तयारी रहेको बताइएको छ ।
महाधिवेशनमा नेतृत्वको आकांक्षी र गुटका कारण सस्थापन र सस्थापनइतर समूहबीच तीव्र मतभेद रहेको छ। शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राख्नु भएको थियो ।
बिहीबार सभापति देउवाले पनि आफ्नो समूहका नेताहरुसँग छुट्टै छलफल गर्नु भएको थियो। सस्थापन र सस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेद्वार उठाउने प्रयास भइरहे पनि आकांक्षी धेरै देखिएका छन् ।
कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने तयारी छ ।
महाधिवेशनको मिति पटकपटक सर्दै आएकाले यसपटक पनि अन्तिम समयमा आएर सर्ने शंका उत्पन्न भएको छ।