छठ पर्वको तयारी अन्तिम चरणमा

   २२ कार्तिक २०७८, सोमबार १०:१४  

२२ कात्तिक, रौतहट । तराईवासी हिन्दुहरुको सबै भन्दा ठूलो र पवित्र पर्व छठ पूजाको तयारी रौतहटमा अन्तिम चरणमा पुगेको छ । एकदमै कडा धार्मिक नियमपूर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्व आज बाट शुरु भएको हो ।

हिन्दु धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कार्तिक र चैत्रमा निष्ठापूर्वक मनाइन्छ । कार्तिक शुक्ल चतुर्दशीका दिन देखी शुरु हुने सूर्य उपासनाको यस चाड लाई तराई तथा मिथिलांचल क्षेत्रमा महापर्व पनि भनिन्छ ।

छठ पूजाको आज पहिलो दिन व्रतालुहरु नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका साम्रगी तयार गरी रहेका छन । आजको यो दिनलाई स्थानिय भाषामा नहाय खाय (नुहाएर चोखो खाने) भन्ने गरिन्छ । छठ व्रत बस्ने बस्ने महिलाहरुले आज चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाने गर्छन ।

 

दोश्रो दिन अर्थात भोलि मंगलवार व्रतालुहरुले खरना मनाउने छन जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खिर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खाने छन र त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार व्रत शुरु हुनेछ । यस अवधिमा व्रतालुहरु पानि समेत नखाई सूर्य भक्तिमा लीन भइ बस्छन ।

महापर्व छठ अन्तर्गत बुधवार बेलुका अस्ताउदै गरेको सूर्यलाई अर्घ दिइने छ भने बिहिवार बिहान उदयमान सूर्य लाई विधि पूर्वक अर्घ दिए पछि चार दिनको लोकआश्थाको महापर्व विधिवत रुपमा सकिने छ ।

छठका कारण रौतहटका प्रमुख तथा ग्रामिण बजारहरुमा समेत चहलपहल बढेको छ । कपडा, खाद्यान्न तथा फलफुलका पसलहरुमा ग्राहकको भिड देखिन्छ । यसै गरी घर भन्दा टाढा बाहिर रहेका परिवारजनका सदस्यहरु पनि घर फर्किने क्रम शुरु भएको छ । छठ पर्वले गर्दा रौतहटका प्रमुख बजारहरु चन्द्रनिगाहपुर, गरुडा, कटहरीया, शिवनगर र सदरमुकाम गौरमा व्रतालुहरुको चहलपहल निकै बढेको छ ।

पूजाको अन्तिम तयारी

छठ पर्वले गर्दा रौतहटका प्रमुख बजारहरु चन्द्रनिगाहपुर, गरुडा, कटहरीया, शिवनगर र सदरमुकाम गौरमा व्रतालुहरुको चहलपहल निकै बढेको छ ।

लताकपडा, मिठाइ, फलफूल पसलहरुमा भिड बढेको छ भने पूजाका आवश्यक सामग्रीहरुको मोल पनि यति बेला आकाशिएको छ । खासगरी हरिया तरकारी र फलफूलको मूल्य निकै बढेको छ ।

डुमजातीले बनाएका पूजाको लागी चाहिने बासको चोयाले बनेका डाला, सुपली तथा कुम्हाले ले बनाएका माटोका कलश र हाती किन्ने ग्राहकहरुकोे भीड छ । छठ पूजा हुने पोखरी, तलाउ तथा नदी किनारहरु दुलही झै श्रृगारीदै छन भने भजन किर्तनका गीतहरुले वातावरण नै भक्तिमय बन्न थालेको छ ।

तस्विर : प्रेम यादव