बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु, ४ उपचाररत
२१ कात्तिक, रौतहट । रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको यात्रु बाहक बसले शनिबार राति पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ नेवारपानी नजिकैको सडकखण्डमा यात्रुवाहक बसले ठक्कर दिँदा चितवन पिप्ले बस्ने ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी र हेटौंडा १९ नेवारपानीकै निवासी २० वर्षीय सुरज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार बागमती प्रदेश ०३-००१ख ०९३६ नम्बरको महान्ता बसले दिएको ठक्करबाट देउसीभैलो खेल्न हिँडेका दुई पैदलयात्रीको मृत्यु पश्चात् स्थानीयहरुले बसमा आगजनी गरेका थिए । ठक्कर दिने बसमा आगजनी गर्दा पूर्णरुपमा जलेर नष्ट भएको छ ।
दुर्घटनामा परेर घाइते भएका अन्य ४ जनाको हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएको बस चालकको खोजी भइरहेको र घटनाबारे अनुसन्धान सुरु भएको रिमालले जानकारी दिए ।