प्रचण्ड केशरजंग रायमाझीको नयाँ अवतार : प्रभु साह
२० कार्तिक, रौतहट । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले प्रचण्ड केशरजंग रायमाझीको नयाँ अवतार रहेको बताएका छन् ।
शनिबार दीपावली तथा छठ पर्वको अवसरमा रौतहटको कटहरीया नगरपालिका-१, भसेढवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम लाई सम्बोधन गर्दै नेता साहले कांग्रेसको पुच्छर बनेर प्रचण्डले जनयुद्ध र शहिद समेतको अपमान गरेको बताए । नेता साहले विगतमा कांग्रेसी फाँसीवादको विरुद्ध युद्ध गरेर किसान मजदुरको रगत बगाएर प्रचण्डले अन्तिममा कांग्रेसकै लंगौटी बनेर केशरजंग रायमाझीको नयाँ रुप देखाएको टिप्पणी गरे । सर्वहारावर्गको मत लिएर प्रतिक्रियावादी शरणमा पुगेर प्रचण्डले आफ्नो पतनको दिशा आफै चयन गरेको बताए ।
“हिजो कांग्रेसी फाँसींवादको विरुद्ध भीषण युद्धमा किसान मजदूरको रगत पसिनाबाट नेता बनेका प्रचण्ड गत निर्वाचनमा कांग्रेसको विरुद्ध जनताको मत लिएर आज त्यही कांग्रेसीको लंगौटी बनेको छ । प्रचण्डको यो गद्दारीको कदम नेपाली ईतिहासमा नौलो होईन, केशरजंग रायमाँझी प्रवृतिको पुनरावृत्ति हो ।” नेता साहले भने, “सामन्ती ब्यवस्थाको विरूद्ध राजासंगको निर्णायक लड़ाईमा हिजो जसरी केशरजंग रायमाझीले गद्दारी गरे आज त्यसरी नै दलाल संसदीय फाँसीवादको विरुद्ध कांग्रेससंग निर्णायक ढंगले लडनुपर्ने बेलामा कांग्रेसीको अगाड़ी आत्मसमर्पण गरेर प्रचण्डले गरेको गद्दारी केशरजंग रायमाझीको नयाँ अवतार बनेको छ ।”
“अहिले तपाईहरुलाई लाग्न सक्छ प्रचण्ड नै माओवादी हो भनेर । तर नेकपा माओवादी केन्द्र एउटा नाम मात्र हो, खास अर्थमा भन्ने हो भने एउटा पसलको रुपमा मात्र बाँकी रहेको छ । प्रचण्ड त्यसको एउटा व्यापारी बनेको छ । माओवादी विचार, विरासत, मुद्दा र महान शहिदहरुको सपना बेचेर अहिले प्रचण्डले जनतालाई धोका दिएको छ ।” नेता साहले थपे, “कांग्रेसको विरुद्धमा गरिब, मजदुर, किसान एवम् सर्वहारा वर्गको विश्वास जितेर बहुमत हासिल गरेका प्रचण्डले पछी त्यही कांग्रेसको पुच्छर बन्ने काम गरे । यसरी जनतालाई धोका दिने प्रचण्डहरुको पतन निश्चित छ ।”
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य कुन्दन कुश्वाहा, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेता त्रिभुवन साह, सो वडाका वडाध्यक्ष राजकुमार साह, आईटी आर्मीका जिल्ला अध्यक्ष नरेश साह तुरहा लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।