तिहारको चौथो दिन गोवद्र्धन पूजा मनाइँदै

   १९ कार्तिक २०७८, शुक्रबार ०९:२०  

१९ कात्तिक, रौतहट । आज यमपञ्चक अर्थात तिहारको चौथो दिन गाई, गोरु र गोवद्र्धनको पूजा गर्दै रौतहट लगायत देशमा मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिइ दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको विज्ञले बताउँदै आएका छन् ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्यु पछि गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ र वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजा गरी मीठामीठा परिकार खुवाउने गरिन्छ ।