कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५० लाख नाघे

   १६ कार्तिक २०७८, मंगलवार १४:४९  

१६ कात्तिक, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण हालसम्म ५० लाख भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघि फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभरी ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले आज जानकारी दिएको छ ।

चालिस लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब चार महिनापछि दिइएको जानकारीअनुसार कोरोना संक्रमणको कारण मृत्यु भएका व्यक्तिको संख्या ५० लाख नाघेको हो ।

विश्वका अरबौं मानिसहरुले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ । गत अक्टोबरको शुरुपछि करिब एक वर्षमा पहिलो पटक विश्वव्यापी रुपमा दैनिक मृत्युको संख्या ८ हजार भन्दा कम भएको छ ।

यद्यपी युरोपमा दुई महिनायता पहिलो पटक कोभिड(१९ का संक्रमित र मृत्युको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार जारी रहेको पत्रकार सम्मेलनमा बताएका छन् ।

रुसमा हाल संक्रमण र मृत्यु नयाँ रेकर्ड कायम भएको छ । गत अक्टोबर २० देखि औसतमा दैनिक एक हजार भन्दा बढी भएको मृत्यु हुदै आएको छ ।
रुसमा कोरोना संक्रमणको कारण गत नोभेम्बर १ सम्ममा दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भईसकेको छ । एजेन्सी