ओली देशका लागी अभिषाप हुन : माधव नेपाल

   १६ कार्तिक २०७८, मंगलवार १२:१७  

१६ कार्तिक, रौतहट ।नेकपा एकीकृत समाजवादिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओली देशको लागी अभिषाप भएको बताएका छन ।

नेकपा एमालेका अध्यक्ष ओलीको कारण देशले दुःख पाएको बताउदै नेता नेपालले देशलाई ओली प्रवृतिबाट मुक्त बनाउनु पर्ने बताएका छन । हावादारी गफ मात्रै गर्ने र झुठ बोलेर देश र जनतालाई ओलीले झुक्याइरहेको उनको आरोप छ ।

गृह जिल्ला रौतहटमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले अबको निर्वाचनमा पाँच दलको गठबन्धनले एकताबद्ध रुपमा चुनाव लडने बताए । निर्वाचनमा गठबन्धले मिलेर भाग लिने तथा सोही अनुरुप उम्मेदवार बनाउने उनले बताए । चुनावमा तालमेलका लागी पाँच दलका नेताहरु बसेर छलफल गर्ने अध्यक्ष नेपालले बताए ।

प्रधानन्यायधिसको विवादको विषयमा गठबन्धनका नेताहरु बसेर छलफल गर्ने बताउदै नेता नेपालले भने “प्रधानमन्त्री विदेशबाट फर्किए पछि हामी छलफल गर्छौ ।” नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण देशमा समस्याहरु उत्पन्न भएको उनको तर्क छ ।

संचारकर्मीहरु सँग कुरा गर्दै नेता नेपालले अहिले अर्ली इलेक्सनको आवश्यक्ता नभएको बताए । “निर्वाचन कानूनले तोकेकै समयमा हुन्छ ।” अहिलेको चुनाव एकदमै खर्चिलो हुदै गएकोले अब तिनै तहको निर्वाचन एकै साथ गर्ने पक्षमा आफु रहेको उनले बताए ।

ओलीले घरघरमा ग्यासको पाइप, पानी जहाज, रेल लगायतका दर्जनौ झुठो घोषणा गरेको उनको आरोप छ । प्रदेश २ को विकासकालागी आफूले सक्दो पहल गरेको उनले बताए । नेपालको ब्युरोक्रेसीले समेत देशमा समस्या उत्पन्न गरेको उनको तर्क छ ।

“ब्युरोक्रेसीमा समस्या छ ।” नेता नेपालले भने “कमिसनको लागी ब्युरोक्रेसीले देशमा कतिपय योजनाहरु अलपत्र र गुणस्तरहीन बनाउदै छन ।”

अध्यक्ष नेपालले रौतहटको गौरमा पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका लागी गृह जिल्ला आएका हुन । ब्यारेक मैदानमा आज दिउसो आयोजना हुने कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट कार्यकर्ताहरु गौर आएका छन ।