कैलालीबाट ३ जना पक्राउ

   १५ कार्तिक २०७८, सोमबार १४:३३  

१५ कात्तिक, रौतहट । स्रोत नखुलेको रकमसहित कैलालीबाट तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ कोटदेबल बस्ने २४ वर्षीय नारायण खड्का २२ वर्षीय मुकेश खड्का र १८ वर्षीय किरण खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीनै जनालाई नियन्त्रणमा लिएको छ ।

विष्टका अनुसार उनीहरुको साथबाट ३४ ग्राम ३६० मिलिग्राम सुनका गरगहना र ७३७ ग्राम ७८० मिलिग्राम चाँदीका गहना समेत बरामद गरिएको छ ।

उक्त गहना र नगदसहित पक्राउ परेका तीनै जनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।