मोटरसाइकल दुर्घटना हुँदा रौतहटमा एक जनाको मृत्यु

   १२ कार्तिक २०७८, शुक्रबार ११:४८  

१२ कात्तिक, रौतहट । मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किदाँ रौतहटमा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परेर समाजवादी विद्यार्थी युनियन रौतहटका उपाध्यक्ष गरुडा, महम्मदपुर बस्ने २५ वर्षीय अभय यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख तथा डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

गौर–चन्द्रपुर सडकखण्डको बसन्तपुर सडकखण्डमा यादवले चलाएको मोटरसाइकल अनियन्त्रित भएर बिहीबार गएराति करिब ११ बजेतिर विद्युतको पोलमा ठोकिएको थियो । चन्द्रपुरबाट घर जाने क्रममा भएको दुर्घटनामा यादवको मृत्यु भएको लामिछानेले जनाएका छन् ।

सोही मोटरसाइकलको पछाडि सवार भएका गरुडा वडा नम्बर ४ बस्ने ३० वर्षीय नवलकिशोर पटेल घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएको पटेलको उपचार चन्द्रपुर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।