सर्लाहीका दुवै एसपी एकै दिन फेरिए
७ कार्तिक, रौतहट । आज एकै दिन सर्लाहीका दुई सुरक्षा प्रमुख फेरिएका छन । नेपाल प्रहरीका एसपी र सशस्त्र प्रहरीका एसपी दुवैको एकै दिन काज सरुवा भएको छ ।
नेपाल प्रहरीका एसपी सन्तोष सिंह राठौैर र सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठ दुवैलाई काज सरुवा गरिएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु सार्वजनिक स्थानमा तास खेलेको भिडियो सार्वजनिक भए पछि आलोचित बनेका थिए ।
गत भदौं २६ मा सशस्त्र प्रहरी मनुसमारा बेस क्याम्पमा सर्लाहीका सुरक्षा निकायका प्रमुखहरुले भोज खादै तास खेलेको भिडियो बाहिरिएको थियो । पछिल्लो समय सर्लाहीका विभिन्न नाकाहरुबाट तस्करी समेत बढेको पाइए पछि दुवै सुरक्षा प्रमुखको सरुवा भएको श्रोतको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी राठोरको सरुवाको पत्र आएको केही समय पछि नै सशस्त्र प्रहरी बल १० नम्बर गणका एसपी श्रेष्ठको पनि काज सरुवा भएको छ ।
यसैगरी धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटालाई पनि प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ । खानेपानी प्रमुखलाई जनमत पार्टीका कार्यकर्ताले कालोमोसो दलेर कुटपीट गर्दै बाटोमा घुमाउदा समेत प्रहरी मुखदर्शक बनेको आरोप लागेको थियो ।