सर्लाहीमा बेग्लाबेग्लै दुर्घटनामा परी ३ जनाको मृत्यु
७ कात्तिक, रौतहट । सर्लाहीका छुट्टाछुट्टै स्थानमा बेग्लाबेग्लै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ, भने एक बालकको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।
जिल्लाको ब्रहम्पुरी २ बस्ने ४० वर्षीय सुरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको छ । विद्युतीय पोलमा वाइफाईको तार जोड्ने क्रममा शनिबार साँझ करेन्ट लागेर साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
यस्तै, ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ७ मोहनगङ्जकी २८ वर्षीया बपितादेवी साहको पनि करेन्ट लागेर मृत्यु भएको हो । ईश्वरपुर नगरपालिका १५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा बपितादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, बागमती नगरपालिका वडा नम्बर ५ मा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक बालकको मृत्यु भएको छ ।
दुर्घटानामा परी गम्बीर घाइते भएका बागमती ८ बस्ने १४ वर्षीय प्रकाशबहादुर थिङको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।