बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख राहत दिने
५ कात्तिक, रौतहट । बेमौसमी बाढीपहिरोमा परेर ज्यान गुमाउने व्यक्तिका परिवारलाई रु २ लाख राहत दिने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ ।
केहि दिनदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी कर्णाली प्रदेशमा ८ जनाको मृत्यु भएको छ, भने ४ जना घाइते भएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज (शुक्रबार) बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सामूहिक दुर्घटना बीमाबापत सोे रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश सरकारले यसअघि लागू गरेको सामूहिक दुर्घटना बीमा कार्यक्रमअन्तर्गत यसपटकको बाढीपहिरोमा परी ज्यान गुमाउने हुम्लाका छ, कालीकोट र जुम्लाका एक÷एक व्यक्तिका परिवारलाई रु दुई लाख राहत रकम उपलब्ध गराउने निर्णाय गरेको छ ।
विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी र पहिराबाट अन्नबालीमा पुगेको क्षतिको लगत सङ्कलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्ने, र घाइतेको निःशुल्क उपचार गर्ने प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार गत आइतबार रातिदेखि लगातार भएको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी पूर्णरुपमा क्षति भएका घरको विवरण सङ्कलन गरी पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रमका लागि सङ्घीय सरकारसँग समन्वय गर्नेलगायतका निर्णय समेत गरेका छन् ।