धान किसानलाई क्षतिपूर्ति दिन संघर्ष समितिको माँग
६ कार्तिक, रौतहट । केही दिन अघिको वर्षाका कारण रौतहटका धान किसानलाई ठूलो क्षति भएको भन्दै आइटि किसान संघर्ष समितिले किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माँग गरेको छ ।
बेमौसमी वर्षाका कारण रौतहटको हजारौं बिघामा लगाइएको धानवाली नष्ट भएको छ । वर्षा र हावाहुरीका कारण धानवाली खेतमै नष्ट भएको हो । धानखेती गर्ने किसानलाई पीर माथी झनै पीर थपिएको भन्दै सरकारले क्षतिपूर्ति र राहतका प्याकेज ल्याउनु पर्ने भन्दै संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई ज्ञापन पत्र बुझाएको छ ।
धान रोप्ने बेला महङ्गोमा मलखाध किनेर खेती गरेका किसान धान पाक्ने बेलामा पानीले नष्ट भएपछि ऋृणमा डुबेको भन्दै उनीहरुलाई सरकारले राहत प्रदान गर्नुपर्ने प्रदेश सभा सदस्य कुन्दन कुशवाहाले बताए ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा बुझाइएको सो ज्ञापन पत्रमा प्राकृतिक प्रकोपबाट हुने क्षतिको भरपाईको लागि उचित राहत प्याकेजको व्यवस्था, समयमैं गुणस्तरीय विउ, मलखाध र सिंचाईको प्रबन्ध, कम्तिमा योगदानको अनुपातमा सहुलियत कृषि ऋण, प्रभावकारी कृषि अनुदान एवं विमाको प्रबन्ध, कृषि उपजको प्रभावकारी भण्डारण एवं बजारीकरणको व्यवस्था तथा अन्नदातालाई सम्मान एवं प्रोत्साहन स्वरूप पेनसनको व्यवस्था गर्न समेत ध्यानाकर्षण गराइएको छ ।
संघर्ष समितिले यस अघि पनि किसानहरुलाई मलखाद्यको व्यवस्था, कृषि बिमा तथा ट्रयाक्टरमा लाग्ने कर छुटका लागी सरकारलाई दबाब दिन रौतहटमा ट्रयाक्टर सहित विशाल प्रर्दशन गरेको थियो ।
पीडित धान किसानहरुलाई तत्काल राहतका प्याकेज उपलब्ध नगराए आन्दोलनका कार्यक्रम गर्ने आइटि किसान संघर्ष समितिले जनाएको छ ।