उर्लियो सेती र महाकाली, बाढी र पहिरोमा फसेकाहरूको उद्धार हेलिकोप्टरबाट गरिँदै

   २ कार्तिक २०७८, मंगलवार ११:१८  

२ कात्तिक, डोटी । सेती नदीमा बाढीको सतह अत्यधिक बढेपछि अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ गर्न रोक लगाइएको छ ।

बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए ।

पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएका छन् ।

डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ ।

गृहमन्त्री खाणले यी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढङ्गले उद्धार र राहतको काम तीव्र गतिमा गर्न निर्देशन दिएका छन्।

तीन दिनदेखिको लगातारको वर्षाका कारण नदीमा बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । नदीमा पानीको बाहब बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेष गरी रातिको समयमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । विपद् व्यवस्थापनमा जुट्न जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशन दिइएको समेत प्रजिअ विष्टले जानकारी दिए ।

सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको उद्धार हेलिकोप्टरबाट गरिँदै

लगातार परेको भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।

वर्षातका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन्। महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक÷एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएका छन्। केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरू बिचमा थुनिएको खबर आएको पाण्डेले बताइन्।

मन्त्री खाणले यी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढङ्गले उद्धार र राहतको काम तीव्र गतिमा गर्न निर्देशन दिएका छन्।

लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए। ‘निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग (भाइरल रोडं) नदीले कटान गरिरहेको छ’, प्रवक्ता न्यौपानेले भने, ‘पारी दोधारा चाँदनीतर्फ पनि नदी किनारका बस्तीमा पानी पस्न थालेको छ।’

यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्रहरीले जनाएको छ। उता दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ। महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिए।

उनले प्रहरीको विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रहरी कार्यालयको टोलीसहित तटीय क्षेत्रमा उद्दारमा खटिएको जानकारी दिए। “यहाँ करिब ३०० घर प्रभावित भएका छन्।” उनले भने, “धेरैलाई सुरक्षित स्थानमा सारिएको छ।” नेपाली सेना र सशस्त्र प्रहरी पनि बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि जाने तयारीमा छन्। लगातारका वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ। सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ।