वीरगंजमा कोरोना संक्रमणको दर बढदै, यादवमा समेत संक्रमण पुष्टी

   १७ श्रावण २०७७, शनिबार ११:३२  

१७ साउन, रौतहट । वीरगंजमा कोरोना संक्रमणको दर बढदै गएको छ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीमा संक्रमण पुष्टी भएको तिन दिन पछि प्रतिनिधिसभा सदस्य रहेका प्रदीप यादवमा समेत संक्रमण पुष्टी भएको छ ।

शुक्रवार राति यादवको स्वाब परिक्षणको नजिता पोजेटिभ आएको हो । गए राति आएको रिपोर्टमा यादव सहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद यादवले सामाजिक संजालमा आफूमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन । संक्रमण पुष्टी भए पनि स्वास्थ्यमा कुनै समस्या नभएको तथा आइसोलेसनामा बसेर आराम गरिरहेको उनले जनाएका छन । सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, सामाजिक दुरी कायम राख्न तथा अनिवार्य रुपमा मास्क लगाउन समेत उनले अपील गरेका छन ।

वीरगञ्ज–१३ राधेमाई बस्ने ४० वर्षीय सांसद यादवसँगै उनको सवारी चालक र पीएसओ पनि स्वाब परिक्षण गर्दा कोविड १९ को संक्रमण भेटिएको छ । यसै गरी नारायणी अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको छ नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन ।

परिक्षणमा वीरगञ्ज– ६ माईस्थान मिना बजार क्षेत्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । मास टेष्टिङका क्रममा माईस्थान मिना बजारमा संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा ३३ जनामा संक्रमण देखिएको छ । १० जना संक्रमित वीरगञ्ज–२५ ड्राईपोर्ट सिर्सिया क्षेत्रका छन् । रौतहटको चपुर घर भई नारायणी अस्पतालमा कार्यरत ३४ वर्षीय डाक्टर र अस्पतालमै कार्यरत एक जना पारामेडिक्समा पनि कोरोना संक्रमण देखिएको छ ।