महोत्तरीमा बोक्सी भन्दै भाउजूको हत्या, देवर पक्राउ

   १ कार्तिक २०७८, सोमबार ११:१६  

१ कात्तिक, रौतहट । बोक्सी भन्दैँ महोत्तरीमा एक जनाले आफ्नै भाउजूको हत्या गरेका छन् ।

जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर ३ स्थित मडै बस्ने ४२ वर्षीय शिलादेवी झालाई बोक्सी भन्दैँ उनकै देवर सञ्जय झाले हथौडा प्रहार गरी हत्या गरेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

गत असोज २८ गते (बिहीबार) सुतिरहेकै अवस्थामा शिलादेवीको टाउकोमा हथौडा प्रहर गरी सञ्जयले भाउजूको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शिलादेवीले दिएको केरा खाँदा सञ्जयकी श्रीमती (रिंकु झा)लाई मुखबाट फिज आएको र गर्भ तुहिएको आरोप लगाउँदै उनले हत्या गरको स्वीकार समेत गरेका हुन् ।

रिंकुलाई विभिन्न अस्पतालमा उपचार गराएपनि स्वास्थ्यमा सुधार नआएपछि, भाउजू बोक्सी नै हुन भन्दै उनले हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।

प्रहरीका अनुसार सञ्जयसंग शिलादेवीले लिएको १२ लाख ३९ हजार सापटी रुपैयाँ नदिएका कारण घरमा सामान्य विवाद निरन्तर भइरहेको थियो । सापट लिएको रुपैयाँ शिलादेवीले हालसम्म सञ्जयलाई फिर्ता नदिएको महोत्तरी प्रहरीले जनाएको छ ।