जनप्रतिनिधिहरु बजेटकाे भागबन्डामै अल्झिए: निवेश कुमार

   ३० आश्विन २०७८, शनिबार ०७:१६  

३० असाेज, राैतहट। जनप्रतिनिधिहरु बजेट भागबन्डामा अल्झेकै कारण राजदेवी नगरपालिका अस्तव्यस्त बनेको राजदेवी नगरपालिकाका युवा नेता निवेश कुमार (यादव)ले बताएका छन् ।

राजदेवी नगरपालिका-७, बसतपुर बजारमा आईटी आर्मी नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता कुमारले मेयर उपमेयरसहित अन्य निर्वाचित जनप्रतिनिधिहरुले जनताको हितभन्दा पनि बजेट दुरुपयोगमा बढी ध्यान दिएको आरोप लगाए । नगरपालिकामा विभिन्न पक्ष खडा गरी कोही समर्थनमा र कोही विरोधमा देखिए पनि सारमा बजेटकै लडाइ भएको उनको ठहर छ । निर्वाचन भएको चार वर्ष बितिसक्दा पनि एउटा पनि गतिलो काम देख्न नसकिने उनको भनाई रहेको छ ।

“तपाईहरु हेर्न सक्नुहुन्छ, राजदेवी नगरपालिकामा वर्षेनी ४०/५० करोड बजेट आउँछ तर एक दुई करोडको काम पनि देख्न गाह्रो छ । कोहि नगरपालिका चलाउने नाममा बजेट लुटखसोटमा व्यस्त छन् भने कोही विरोधको नाममा बार्गेनिङ गरिरहेका छन् ।” नेता कुमारले भने, “वडास्तरमा जितेकाहरु त अझै आफुलाई पन्चायतकै अंग मान्दा रहेछन् । आफुलाई उनीहरुले जनताको प्रतिनिधि भन्न रुचाउनुभन्दा पनि पन्च भन्न मन पराउछन । समग्रमा हेर्दा जनप्रतिनिधिहरु स्वार्थका कारण नगरपालिका अस्तव्यस्त छ।”

नेता कुमारले नगरलाई तीव्र विकासको नयाँ उचाईमा पुर्याउन कुशल नेतृत्वको आवश्यक औंल्याएका छन् । पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निवर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहा, नेताहरु राजकिशोर यादव, उपेन्द्र साह, त्रिभुवन साह, राजेश साह, चन्देश्वर बैठा, रामपुकार दास, रुपनारायण दासलगायतको उपस्तिथि रहेको थियो ।