आज महाअष्टमी, शक्तिपीठहरुमा भक्तजनको घुईचो

   २७ आश्विन २०७८, बुधबार ११:०२  

२७ असोज, रौतहट । हिन्दुहरुको महान चाड विजया दशमीको आज आठौ दिन महाअष्टमी रौतहटमा पनि धुमधामले मनाइदै छ ।

जिल्लामा रहेका विभिन्न देवी शक्तिपीठहरुमा आश्था, विश्वास र श्रद्धाभावका साथ दुर्गा भवानीको पूजा अर्चना गरिदैछ । दशैंको बेला विषेश गरी रौतहटमा राजदेवी मन्दिर, मत्सरीको दुर्गा मन्दिर, शिवनगर, गरुडा, चन्द्रनिगाहपुरका देवी स्थानहरु लगायत विभिन्न मन्दिर तथा शक्ति पीठहरुमा भक्तिभावका साथ पूजा भइरहेको छ ।

आज अष्टमीका दिन राजदेवी मन्दीर र मत्सरीको दुर्गा मन्दीरमा खसी, बोका को बलि दिइएको छ । रौतहटमा सबै भन्दा बढी बलि दिइने मन्दीर मत्सरीको दुर्गा मन्दीर नै हो । पूर्ण तान्त्रीक विधिबाट सप्तमीको राती नीशा पूजा सम्पन्न भए पछि मात्र सो मन्दीरमा बलि चढाउने चलन रहेको छ ।

यसै गरी सदरमुकाम गौर लगायत जिल्ला भरी नै दुर्गा भवानीको माटोको मूर्ति बनाई सजाएर विधिपूर्वक मन्त्रोच्चारणका साथ पूजाआजा हुदैछ । लाउडस्पीकरहरुमा शंख, घण्ट तथा मन्त्रका आवाजहरुले पूरै सदरमुकाम नै गुञ्जीएको छ । गौर नगरक्षेत्रमा ६ स्थानमा देवीको माटोको मूर्ति बनाएर आकर्षक सजावट गरिएको छ ।

विद्युतिय प्रकाशहरुले गर्दा रमणीय देखिने यी पंडालहरुमा साझ पख पनि दर्शनार्थीको उल्लेख्य भीड बढने गरेको छ । मन्दीरको आकारमा बास तथा कपडाले बनाइएका यी पंडालहरु झीलीमिली बतिले गर्दा दुलही झै श्रृङ्गारीएका देखिन्छन ।