मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु
२६ असाेज, राैतहट । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
प्रजिअ महतका अनुसार नेपालगञ्जबाट गाडीमा करिब ७० जना चढेको प्रारम्भिक विवरण छ। बस भिरालोबाटोमा धेरै तल खोलामा खसेको महतले बताए।
प्रजिअ महतले भने, “हामी घाइतेलाई उद्धार गरेर विमानस्थल पुर्याउने र शव सङ्कलन गर्ने काम गरिरहेका छौँ।” घाइतेलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर विभिन्न अस्पतालमा लगिने महतको भनाइ छ।
उद्धार र शव सङ्कलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए।