काठमाडौं छाेड्नेकाे लर्काे, सोमबार रातिसम्म १२ लाखले छोडे राजधानी

   २६ आश्विन २०७८, मंगलवार ११:५७  

२६ असाेज, राैतहट ।  गत वर्षभन्दा दसैं मनाउन गाउँ जानेको संख्या दोब्बरले बढेको छ। यातायात व्यवसायीका अनुसार सोमबार रातिसम्म १२ लाखले राजधानी छोडेका छन्। गत वर्ष ६ लाख मानिसहरू दसैं मनाउन घर गएको अनुमान छ।

कोरोना संक्रमणका कारण गत वर्ष दसैंको खासै रौनक र उत्साह थिएन। सर्वसाधारण घर जान डराएका थिए। यसपालि असोज पहिलो सातानै विदेशबाट दसैं मनाउन आउनेको संख्या ह्वात्तै बढेको थियो।

‘विदेशबाट दसैं मनाउन धमाधम मान्छेहरू फर्किन थालेपछि असोज ९/१० गतेबाट टिकटको बुकिङ ह्वात्तै बढेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। उनका अनुसार ठूलो संख्यामा मानिसहरू दसैं मनाउन गाउँतिर लागेका छन्।
गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको चाप छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा नयाँ बसपार्कका प्रहरी निरीक्षक किरन लामाले सोमबार घर फर्किनेको चाप अत्याधिक भएको बताए।

दिनमा ५ देखि ७ सय बस काठमाडौंबाट छुटिरहेको उनले जानकारी दिए। ‘हिजो अस्ति अझै धेरै भीडभाड थियो,’ सोमबार उनले भने। गौशाला, कोटेश्वर, कंलकीमा पनि गाउँ फर्कनेको भीड उस्तै छ।

नागढुंगा प्रहरी चेकपोष्टका एक प्रहरीका अनुसार बाहिर जाने बसको चाप धेरै नै छ। ‘पोहोर यो नाकाबाट बसहरू खासै गएका थिएनन्,’ ती प्रहरीले भने, ‘अहिले त रातदिन सडक खाली छैन। सार्वजनिक बस मात्र होइन। निजी कार, जिप, मोटरसाइकल पनि उत्तिकै बाहिरिरहेका छन्।’

बसको टिकट नपाएर नयाँ बसपार्कमा भौतारिने पनि उत्तिकै छन्। महासंघका महासचिव सिटौला असोज १ देखि हालसम्म ९ लाखले सार्वजनिक यातायातबाट काठमाडौं छाडेको बताउँछन्। निजी सवारीसमेत गरी झण्डै १२ लाख बाहिरिएको यातायात व्यवसायीको अनुमान छ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार गाउँ फर्किनेको भीडभाडले ग्वार्को, सातदोबाटो, थापाथली, त्रिपुरेश्वर, न्युरोडगेट, केशरमहल, लैनचौर, मित्रपार्क, चाबहिल, नयाँबसपार्कगेटलगायत स्थानमा ट्राफिक व्यवस्थापन गर्न हम्मे छ।

महाशाखाले ६ लाख ५ हजार बाहिरिएको बताएको छ। काठमाडौं भित्रिनको संख्या पनि कम छैन। सोमबार बिहानसम्म ५ लाख काठमाडौं भित्रिएका छन्। महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दास पूmलपातीबाट बिदा हुने भएकाले फर्किनेको संख्या अझै बढ्ने बताउँछन्।