कस्ले कुन मन्त्रालय सम्हाल्ने ?
२२ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहाभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । समाजवादीले नेता विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेको छ ।
स्वास्थ्यका लागि प्रस्ताव गरिएकी नेतृ रामकुमारी झांक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीका लागि सिफारिस गरिएको स्रोतले जनाएको छ ।
त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा किसान श्रेष्ठ तथा सहरी विकासमा प्रेम आलेलाई सिफारिस गरिएको छ । त्यस्तै भवानी खापुङलाई राज्यमन्त्रीमा सिफारिस गरिएको स्रोतको दाबी छ ।
जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रालय बाडफाड गरेको छ । जसपा स्रोतका अनुसार पार्टीबाट सरकारको नतृत्त्व गरेका राजेन्द्रप्रसाद श्रेष्ठले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्वेवारी पाउने भएका छन् ।
जसपाले टुग्याएको आफ्ना भागका मन्त्रीहरुको विभागीय जिम्वेवारी अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवकी विश्वास पात्र मानिने रेणु यादवले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएकी छिन् ।
जसपा महासचिव रामसहाय यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राजेन्द्र महतोलाई छोडेर उपेन्द्र यादवतर्फ लागेका प्रमोद यादवले भने कृषि तथा पशुपन्छि विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको मन्त्रालय टुंगो लगाएको छ । माओवादीले देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सिफारिसको तयारी गरेको छ ।
त्यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमा शशी श्रेष्ठ युवा तथा खेलकुद महेश्वरजंग गहतराजलाई सिफारिस गर्ने निर्णय गरेको छ । माओवादीले थप तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । माओवादी केन्द्र्रले राज्यमन्त्रीमा बोधमाया यादवलाई बनाउने भएको छ ।
सरकारमा माओवादीको तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री छन् भने पम्फा भुसाल उर्जामन्त्री छन् ।