को को बन्दैछन देउवा नेतृत्वमा मन्त्री ?

   २२ आश्विन २०७८, शुक्रबार १४:३६  

२२ असोज, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका लागि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले मन्त्री हुने नेताहरुको नाम अघि सारेका छन्। ८८ दिनमा देउवाले सरकार विस्तारको तयारी थालेसँगै सत्ता गठबन्धनका साझेदार ३ दलले आफ्ना तर्फबाट मन्त्री छान्नेका हुन्। माओवादी केन्द्रले सबैभन्दा पहिला मन्त्रीको नाम छान्दा एकीकृत समाजावादीका अध्यक्ष माधव नेपालले शुक्रवार आफ्नो भागमा कम मन्त्रालय भएको भन्दै असन्तुष्टि जनाए। प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री पाउने सहमति भएपछि नेपालले आफ्ना पार्टीका तर्फबाट मन्त्रीहरु सरकारमा पठाउँदै छन्।

माओवादीका ४ मन्त्री

माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटीको बैठकले ३ मन्त्री र एक राज्यमन्त्री छानेको थियो। देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराजलाई मन्त्री बनाउने माओवादीको तयारी छ। त्यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउदै छ। अर्थ, उर्जा, शिक्षा, भूमि, उद्योग र आपूर्ति मन्त्रालय पाएको माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालयमा जनार्दन शर्मा र पम्फा भुसाललाई असार २९ गते नै पठाएको थियो।

माधव नेपालले अघि सारे ४ नेता

सरकार विस्तारका बारेमा अनिर्णित रहदै आएको सत्ता साझेदार दल एकीकृत समाजवादीले पनि मन्त्रीका लागि ४ नेताको नाम अघि सारेको छ। सचिवालयको बैठकमार्फत अध्यक्ष माधव नेपालले विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेम आले, भवानी खापुङ र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउँदै छन्। स्वाथ्य, पर्यटन, श्रम र सहरी विकास मन्त्रालय एकीकृत समाजवादीले पाएको छ। यो सँगै एकीकृत समाजवादी पार्टीले पहिलोपटक सत्ता यात्रा गर्दै छ।

जसपाका भाग्यमानी ४

जनता समाजवादी पार्टीले सत्ता गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकोमा विरोध गरेको थियो। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा  ओलीको चर्को विरोधमा उत्रिएको जसपाले पनि सत्ता गठबन्धन भित्र ४ मन्त्रालयको भाग पाएको छ। जसका लागि अध्यक्ष उपेन्द्र यादवले  राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद शाहलाई अघि सारेको जसपा स्रोतले जानकारी दियो। बाबुराम भट्टराई र अशोक राईको अनुपस्थितिमै जसपाले मन्त्रीको नाम टुंगो लगाउँदै छ। भौतिक पूर्वाधार, संघीय मामिला, वन र कृषि मन्त्रालय जसपाको भागमा छन्।