रौतहटमा नेपाल भारत नाका खुल्यो
२० असोज, रौतहट । कोरोना संक्रमणका कारण डेढ वर्ष देखि बन्द रहेको नेपाल भारत सिमाना आज बाट संचालनमा आएको छ ।
गृह मन्त्रालयले केही दिन अघिनै जिल्ला प्रशासन कार्यालयहरुलाई सिमानाका खोल्न निर्देशन दिएको थियो । भारतसँग सिमा जोडिएका नाका नेपाल तर्फ खुलेपनि भारतीय पक्षले सवारी साधन आवागमन सूचारु नगरेका कारण पैदल आवतजावत मात्र संचालनमा रहेको थियो ।
“रौतहटको गौर नाकाबाट भारत तर्फ आवतजावतका लागी आजबाट संचालनमा आएको छ ।” रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने “हामीले केही दिन अघिदेखी नै नाका खोलेका थियौ, भारतीय पक्षले भने आजबाट नाका सूचारु गरेपछि दुवै तर्फ निजी सवारी साधन सुचारु भएको छ ।” यात्रुवाहक सवारी साधनको आवतजावत सुचारु भए पछि दुवै देशका स्थानिय खुशी भएका छन ।
नेपाली पक्षले ६ दिन अघिनै सिमानाका सहज बनाए पनि पनि भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले भने सिमा नाका संचालनका बारेमा आफुहरुलाई हाल सम्म कुनै जानकारी नआएको भन्दै सवारीसाधन संचालनमा रोक लगाएको थियो ।
कोरोना संक्रमणका कारण २०७६ चैत्र ११ गते देखि बन्द रहेको नाका खुले पछि स्थानिय खुशी भएका छन । बन्द रहेको नाका खुलाउन दुवै देशका स्थानियहरुले लामो समय देखी आवाज उठाइ रहेका थिए । खासगरी चाडबाडका बेला किनमेलका लागी दुवै तर्फका स्थानियहरुको सिमावर्ति बजारमा भिडभाड हुनेगर्दछ ।