धामी हत्याका मुख्य अभियुक्त बोलखे पक्राउ
१९ असोज, रौतहट । रौतहटको चन्द्रपुर गैडाटारमा भएको धामीको हत्याकाण्डको मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
२६ भदौमा गैडाटारमा रहेको कालापानी सामुदायिक वनको जंगलमा रुखको हाँगामा गम्छाको पासो लगाएर झुण्डीएको अवश्थामा चन्द्रपुर ३ का ५० वर्षिय रोहिणी प्रसाद घोरासैनीको शव फेला परेको थियो । हत्या गरेर शवलाई रुखमा झुण्डाउदै आत्महत्याको स्वरुप दिए पनि प्रहरीले घटना शंकास्पद भएका भन्दै छानबिन टोली गठन गरेर अनुुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
हत्या आरोपमा कप्तानटोलका सूर्य बहादुर भण्डारी, गैडाटारका प्रल्हाद फुयाल, पर्सागढीका रमेश पहरीलाई असोज १० गते नै प्रहरीले पक्राउ गरे पनि मुख्य अभियुक्त चन्द्रपुर ४ का सहदेव भन्ने डोलप्रसाद वोलखे फरार रहेका थिए । फरार रहेका बोलखेलाई काठमाण्डौं बाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
चन्द्रपुर ४ कप्तान टोलका सहदेव वोलखेको घरका सदस्यहरु बिरामी भइरहेने भए पछि गाँउमै धामीको काम गर्ने रोहिणी प्रसाद घोरासैनीलाई त्यसको दोष लगाउदै उनकै कारणले घरका मान्छे रोगी भएको भन्दै हत्या गर्ने योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।
बोलखेले २०६३।०६४ सालमा पनि घोरासैनी माथि आक्रमण प्रयास गरेका थिए । १८ वर्ष पहिले देखीको रिसिवी साध्यन वोलखेले हत्याको योजना बनाएर ३ लाखमा सुपारी दिएको उपरिक्षक घिमिरेले बताए ।
पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत म्याद थप गरेर अनुसन्धान र कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक घिमिरेले बताए ।