इपिएल : भैरहवाले चितवनलाई ६ विकेटले हरायो
१८ असोज, रौतहट । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा भैरहवा ग्लाडियटर्सले चितवन टाईगर्सलाई ६ विकेटले पराजित गरेको छ ।
चितवनले दिएको १६५ रनको विजयी लक्ष्यलाई भैरहवाले १७ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा र्गयो । भैरहवाको जीतमा प्रदीप ऐरीले सर्वाधिक ७२ रनको योगदान गरे । उनले ४३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे ।
त्यस्तै तमिम इकबाल ४० रनमा आउट हुँदा उपुल थरङ्गा ३९ रनमा अविजित रहे । रोहित पौडेल छ र आरिफ शेख एक रनमा आउट भए । कुशल मल्ल एक रनमा अविजित रहे ।
चितवनका लागि करिम जनतले सर्वाधिक दुई विकेट लिँदा सागर ढकाल र भीम सार्कीले एक९एक विकेट हात पारे । जारी प्रतियोगितामा चितवनको यो पहिलो हार हो ।
भैरहवाले यो तेस्रो जीत हो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६४ रन बनाएको थियो । तीन जीतबाट छ अङ्क बटुलेको भैरहवा भने दोस्रो स्थानमा उक्लिएको छ ।