एकवर्षमा रौतहटमा २६ जनाको डुबेर मृत्यु
१८ असोज, रौतहट । रौतहटमा एक वर्षको अवधिमा २६ जनाको पानीमा डुबेर मृत्यु भएको छ । प्रदेश २मा आर्थिक वर्ष २०७६।७७ मा डुबेर मृत्युहुनेको सँख्या रौतहटमा बढी रहेको छ ।
एक वर्षमा १२ बालक, १० बालिका सहित रौतहटमा २६ जनाको डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । आव २०७६÷७७ मा प्रदेश २ मा ८६ जनाको डुबेर मृत्यु हुँदा ३८ बालक र २१ बालिका गरी ५९ जना बालबालिको ज्यान गएको छ । यो अवधिमा १७ जना पुरुष र १० जना महिलाले पनि ज्यान गुमाएका छन् ।
सप्तरीमा ८ बालक र ६ बालिकासहित १८ जना, बारामा ११ बालक र ६ बालिका सहित २१ जना, धनुषामा ५ बालक र ८ बालिका सहित २० जना, पर्सामा २ बालिका सहित १५ जना, महोत्तरीमा ३ बालक र ३ बालिका सहित ८ जना, सिरहामा २ बालक र ३ बालिका सहित ६ जना र सर्लाहीमा २ बालक र २ बालिका सहित ६ जनाको डुबेर मृत्यु भएको प्रदेश प्रहरीको तथ्याङ्कले देखाएको छ ।
बाख्रा, भैसी चराउन जाने बेला नजिकैको खाल्डो पोखरी तथा नदीमा नुहाउन पस्दा बालबालिकाहरु डुब्ने गरेका छन । गर्मीको बेला नुहाउने बहाना होस वा माछा मार्ने बहानामा पनि बालबालिका डुब्ने गर्छन । १० असोजमा रौतहटको बाग्मती नदीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक बालकको ज्यान गएको थियो । राजदेवी नगरपालिका ९ को ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा माछा मार्न गएका ४ जना मध्ये १० वर्षिय अवित रामको मृत्यु भएको थियो । यसैगरी चादी नदीले बगाउदा १७ गते पनि चन्द्रनिगाहपुरमा एक युवकले ज्यान गुमाएका थिए ।
पछिल्लो दुई वर्षको तथ्यांक हेर्ने हो भने दुई आर्थिक वर्ष यताका २६ महीना (आर्थिक वर्ष २०७६÷७७, २०७७÷७८ र २०७८÷७९ को दुई महीना गरेर दुई वर्ष दुई महीना) को तथ्यांक अनुसार यो प्रदेशमा २८२ जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा १०८ बालक, ७७ बालिका गरी १८५ बालबालिका छन् । मृत्यु हुने बालबालिकामा अधिकांश १० बर्ष मुनिका छन् । यस बाहेक ६५ जना पुरुष र ३२ जना महिलाको पनि डुबेर मृत्यु भएको छ ।