राैतहटका विभिन्न पालिका घेराउ
१५ असाेज, राैतहट । सुरक्षित आवासका अन्तर्गत गरिब विपन्नहरुलाई वितरण भएकाे रकमकाे सम्पूर्ण विवरण सार्वजनिककाे माँग गर्दै पिडितहरुले विभिन्न पालिका घेराउ गरेका छन् ।
जिल्लाको फतुवा विजयपुर नगरपालिका, गरुडा नगरपालिका, गुजरा नगरपालिका, माधव नारायण नगरपालिका, बौधीमाई नगरपालिका, परोहा नगरपालिकालगायतका स्थानीय तहहरु शुक्रवार आवास निर्माण संघर्ष समिति रौतहटको स्थानीय ईकाईहरुले घेराउ गर्नुका साथै ज्ञापन पत्र समेत बुझाएका हुन् ।
विपन्न गरिब दलितहरूको लागि संवैधानिक मौलिक हकको रुपमा रहेको आवासको हक कार्यान्वयन हुन नसकेकोमा उनीहरुले आक्रोश समेत पोखेका छन् ।
प्रदर्शनकारीहरुले जिल्लाको सबै स्थानीय तहमा कुन कुन आर्थिक वर्षमा कुन वडाको को को व्यक्तिको घर छनोट भएको, कति रकम भुक्तानी भएकोलगायतका सम्पूर्ण विवरण तत्काल उपलब्ध गराउन ध्यानाकर्षण समेत गराएका छन् ।
सुरक्षित नागरिक आवास कार्यक्रममा भइरहेको चरम भ्रष्टाचार, अनियमितता एवं हरेक खाले लापरवाहीको छानविन गरी विशेष चासोका साथ आवास निर्माणको कार्य अगाडि बढाउन लागि माग गरेका हुन् ।
नगरपालिकाको हरेक क्षेत्र तथा कार्यक्रममा गरिबी निवारणका यथेष्ठ बजेटको व्यवस्था हुनुपर्ने, सुरक्षित आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारबाही हुनुपर्ने, कमिसनका लागि भुक्तानी रोक्नेलाई कारवाही गर्ने, दलित युवालाई सीप तथा रोजगारीको व्यवस्था हुनुपर्ने लगायतका माँग राखेका छन् ।