ईपीएलमा पोखराको पहिलो जित
१३ असोज, रौतहट । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको चौथो संस्करणमा पोखरा राइनोजले पहिलो हात पारेका छन् । त्रिवि क्रिकेट मैदानमा साविक विजेता टोली ललितपुर प्याट्रियट्सलाई पोखरा ९ विकेटले पराजित गरेको हो ।
ललितपुरले सात ओभरमा जितका लागि दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाउँदै ५५ रन बनायो । पोखराका लागि रिचर्ड लेभीले ३८ रनको योगदान गरे । २२ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै रित गोतमले १२ रन बनाए ।
यता, ललितपुरका लागि अजमउल्लाह ओमार्जीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो । ललितपुरका लागि सन्धु वेरकोडेले सर्वाधिक १९ रनको योगदान गरे । त्यस्तै ओसाडा फर्नान्डोले नट आउट १० रन बनाउँदा नारायण जोसीले ११ र पवन सरार्फले ५ रन बनाए ।
बलिङतर्फ पोखराका लागि नन्दन यादवले सर्वाधिक तीन विकेट लिए । त्यस्तै बिक्रम सोबले दुई विकेट लिए । दुई टोलीबीचको खेल सात ओभरमा घटाइएको थियो । आजको खेलमा जित निकाल्दै पोखराले २ खेलबाट ३ अंक जोडेको छ ।
पोखराले पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग अंक बाँडेको थियो । यता, ललितपुरको यो लगातार दोस्रो हार हो ।