प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

   १३ आश्विन २०७८, बुधबार १४:३५  

१३ असोज, रौतहट । प्रदेश सरकारले सामुदायिक विद्यालयका छात्राहरुलाई वितरण गर्ने साइकल खरिदमा व्यापक अनियमितता गरेको गुनासो उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।

बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो । साइकल खरिदमा चरम अनियमितता भएको र खरिद प्रक्रिया पारदर्शी नभएको व्यापक चर्चा चलेको बेला अख्तीयारले छापा मारेको हो ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल ल्याउने क्रममा रहेको र अनुसन्धानका लागि केन्द्रमा पठाउने जानकारी दिए ।

अख्तियार स्रोतका अनुसार केन्द्रबाट गएको टोलीले कागजात लिएको हो । प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।