ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
११ असोज, रौतहट । साफ च्याम्पियनसिपको तयारी स्वरूप ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ७–२ ले पराजित भएको छ ।
कतार युर्निभर्सिटी फुटबल मैदानमा सम्पन्न खेलमा नेपाल पहिलो हाफमा २–१ ले पछाडि परेका थियो । तर, दोस्रो हाफमा नेपाल झनै कमजोर बन्यो ।
ओमानको जितमा अब्दुल्लाजिज अल‘मुक्बालीले दुई गोल गरे । त्यस्तै फाहमी साइद, मोहसेन गोहर, इसाम अल–सुभी, मोहसेन अल–घासनी र जमिल अल–याहमादीले एक एक गोल गरे ।
साफ च्याम्पियन्ससिपका लागि नेपाली टोली कतारबाट सोमबार माल्दिभ्स जाँदैछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजै साफ च्याम्पियनसिपका लागि किरणकुमार चेमजोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।
कतारको दोहामा विशेष प्रशिक्षण गरिरहेको टोलीमा समावेश गोलकिपर विकेश कुथु र राजन गुरुङ भने साफ च्याम्पियनसिप टोलीबाट बाहिरिएका छन् ।
नेपालले आसोज १५ गते आयोजक माल्दिभ्सविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेल असोज १८ गते श्रीलंका, तेस्रो खेल असोज २४ गते भारतविरुद्ध र अन्तिम खेल २७ गते बंगलादेशविरुद्ध खेल्ने छ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।