घरका मान्छे बिरामी पारेको भन्दै धामीको हत्या

   ११ आश्विन २०७८, सोमबार १३:१७  

११ असोज, रौतहट । घरका मान्छेहरुलाई बिरामी पारेको भन्दै रौतहटमा एक धामीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

२६ भदौमा गैडाटारमा रहेको कालापानी सामुदायिक वनको जंगलमा रुखको हाँगामा गम्छाको पासो लगाएर झुण्डीएको अवश्थामा ५० वर्षिय रोहिणी प्रसाद घोरासैनीको शव फेला परेको थियो । हत्या गरेर शवलाई रुखमा झुण्डाउदै आत्महत्याको स्वरुप दिए पनि प्रहरीले घटना शंकास्पद भएका भन्दै छानबिन टोली गठन गरेर अनुुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।

घटनाको छानबिन गर्ने क्रममा प्रहरीले पर्साबाट २४ वर्षिय रमेश पहारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका पहारीले आफूले सहदेव भन्ने डोलप्रसाद वोलखेले घोरासैनीको हत्या गर्न ३ लाख रुपैया दिने सम्झैता गरेको बताए पछि हत्याको रहस्य खुलेको प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनाका तिन अभियुक्तलाई सार्वजनिक गरेको हो । हत्या आरोपमा पुर्वी नवलपरासीका सूर्य बहादुर भण्डारी, गैडाटारका प्रल्हाद फुयाल, पर्सागढीका रमेश पहरीलाई पक्राउ गरेको छ ।

चन्द्रपुर ४ कप्तान टोलका सहदेव वोलखेको घरका सदस्यहरु बिरामी भइरहेने भए पछि गाँउमै धामीको काम गर्ने रोहिणी प्रसाद घोरासैनीलाई त्यसको दोष लगाउदै उनकै कारणले घरका मान्छे रोगी भएको भन्दै हत्या गर्ने योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
बोलखेले २०६३।०६४ सालमा पनि घोरासैनी माथि आक्रमण प्रयास गरेका थिए । १८ वर्ष पहिले देखीको रिसिवी साध्यन वोलखेले हत्याको योजना बनाएर ३ लाखमा सुपारी दिएको उपरिक्षक घिमिरेले बताए ।

पछिल्लो पटक भदौ २३ गते तिजको अघिल्लो दिन नै घोरासैनीलाई मार्ने योजना भए पनि सो दिन सम्भव नभए पछि २६ गते घाँस काटिरहेको बेला उनलाई लठी काटिदिनु भन्ने बहानामा बोलाएर जंगलमा लगेर रमेश पहरीले हातखुट्टा समातेको र सूर्य बहादुर भण्डारीले निजको घाँटी थिचेर अचेत बनाइ जंगलको रुखमा झुण्डाएको उपरिक्षक घिमिरले बताए ।

पक्राउ परेका तिनै जनालाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत म्याद थप गरि कारवाही अगाडि बढाएको तथा घटनामा फरार रहेका मुख्य योजनाकार डोरप्रसाद वोलखेको खोजी कार्य भइरहेको उपरीक्षक घिमिरेले बताए ।