बाग्मतीमा डुब्दा एक बालकको मृत्यु, एक वेपता
१० असोज, रौतहट । रौतहटको ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा डुब्दा एक बालको मृत्यु भएको छ भने अर्को एक बालक वेपता भएका छन ।
राजदेवी नगरपालिकाको वडा नं. ९ ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा नुहाउन गएका ४ मध्ये दुई बालकको स्थानियले उद्धार गरेका थिए । माछा मार्न गएका बालकहरु पानीमा नुहाउन पसेपछि डुब्न लागेको देखेर स्थानियले २ जनाको उद्धार गरेका थिए ।
नुहाउने क्रममा पानीमा डुबेर १० वर्षिय अवित रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीसँगै नुहाउन गएका वर्ष १० कै चिन्टु पासवान बेपता भएको रौतहटका प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए । वेपता रहेको बालकको खोजी कार्य भइरहेको उनले बताए ।
मृतक बालकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गौरमा ल्याइएको उपरिक्षक घिमिरेले बताए ।