रौतहटमा सशस्त्र प्रहरीको ज्यादती

   ९ आश्विन २०७८, शनिबार १२:०५  

९ असोज, रौतहट । गाँउबस्तीहरुमा डुलेर सामान बेच्ने महिलाहरुको सामान खोसेर भन्सार बुझाए पछि सशस्त्र प्रहरी बल देवाही गोनाहीका सशस्त्र प्रहरी निरिक्षकको विरोध भएको छ ।

कटहरीया नगरपालिकाको वडा नं. ४ र ५ का महिलाहरुले गाँउबजारमा डुलेर बेच्ने श्रृगांर र कस्मेटिकका सामान समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको महिलाहरुको आरोप रहेको छ । घरपरिवारको खर्च गुजारा चलाउने महिलाहरुको सामान जफत गरेको भन्दै उनीहरुले सशस्त्र प्रहरी बल देवाही गोनाही अगाडी प्रर्दशन समेत गरेका छन ।

सिमाक्षेत्र भन्दा भित्र गाँउको बजारमा टाउकोमा सामान राखेर बेच्दै गुजारा गर्ने महिलाहरुको सामान भन्सार पठाएर सशस्त्र प्रहरीले अन्याय गरेको स्थानिय महिला सगिरा खातुनले बताइन । “भन्सार सिमानाकामा तस्करी गरेर ल्याएको पनि होइन । गाँउको बजारमा बेच्न हिडेको सामान पनि हामीलाई लतार्दै खोसेर लग्यो ।” उनले भनिन “हामीलाई अपराधी जस्तो व्यवहार गर्दै हाम्रो सामान खोसेर सशस्त्र प्रहरीले ज्यादती गर्यो ।”

देवाही गोनाही बिओपीका निरिक्षक विक्रम बोगटीले महिलाहरुलाई हातपात गर्दै जबरजस्ती सामान नियन्त्रणमा लिएको महिलाहरुको दाबी छ । घटनाका सम्बन्धमा बुझ्न बिओपी कार्यालयमा गएका सोही क्षेत्रका प्रदेश सासंद कुन्दन कुशवाहालाई समेत निरिक्षक बोगटीले गैरजिम्मेवार जवाफ दिएका थिए । महिलाहरुलाई उचालेर विरोध गराउन ल्याएको भन्दै निरिक्षक बोगटीले प्रदेश सासंद कुशवाहाकै अपमान गर्न खोजेका थिए ।

स्थानियको गुनासो आए पछि सो बारेमा आफुले बुझ्न खोज्दा सशस्त्र प्रहरी निरिक्षक विक्रम बोगटीले गलत व्यवहार प्रर्दशन गरेको प्रदेश सासंद कुशवाहाले बताए । “महिलाहरुलाई पुरुष प्रहरी कर्मचारीले हातपात गर्नु दुःखद हो ।” उनले भने “जनताकै लागी राखिएको बिओपीले स्थानियलाई पीडित बनाउने काम गरेको छ ।” घरखर्चको जोहो गर्न बजारमा गएर सामान बेच्ने महिलाहरुलाई सशस्त्र प्रहरीले अन्याय गरेको उनले बताए ।

यस अघि पनि गौर भन्सार कार्यालय आगाडी घरखर्चका लागी भारतबाट ल्याएको सामान समेत सशस्त्र प्रहरीले खोसेको भन्दै सशस्त्र प्रहरी बल गौर बिओपीको एक महिला कर्मचारीलाई स्थानियले कुटपीट गरेका थिए । सिमाक्षेत्रमा भारतीय बजारबाट घरखर्चका लागी ल्याउने स्थानियका खाद्यान्न सामग्री समेत नियन्त्रणमा लिने तर तस्करहरुका लागी सिमानाकानै छुट गर्ने सशस्त्र प्रहरीको रौतहटमा विरोध हुन थालेको छ ।

देवाही गोनाही घटनाका सम्बन्धमा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका गणपति सूर्यसेन वलिले केही कस्मेटिक सामानहरु बरामद गरेर भन्सार बुझाइएको तर महिलाहरुले भने जस्तो दुर्वव्यहार नगरेको तथा कानून बमोजिमनै सशस्त्र प्रहरीले काम गरेको बताए ।