आफ्नै श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ

   ५ आश्विन २०७८, मंगलवार १२:४६  

५ असोज, रौतहट । भारतीय नागरिकसंग मिलेर आफ्नै श्रीमानको हत्या गरेको आरोपमा सिरहाबाट एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सिरहाको गोलबजार नगरपालिका ४ निपनिया कुटीबस्ने ३९ बर्षीय दुखहरण महरालाई उनकी पत्नी ३८ वर्षीया हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसंग मिलेर हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार गत भदौँ १७ गते आफू बिरामी भएको भन्दैँ श्रीमानसंगै हरिहरदेवी भारत विहारको जयनगरतर्फ गएका थिए । जयनगर रेल्वे स्टेशनमा करिब ६ बजेतिर चिया खान बसेको बेला मुकेश पनि त्यहाँ आएको थियो ।

चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएका थिए । त्यसको भोलिपल्ट नै भदौँ १८ गते दुखहरण महराको शव जयनगरस्थित बरही गाउँमा फेला परेको थियो । पक्राउ परेकी हरिहरदेवीमाथि यसबारे अनुसनधान भइरहेको छ ।

यस्तै, आरोपी मुकेशलाई पक्राउ गरेर जयनगर थानामा राखी भारतीय प्रहरी अनुसन्धान गरिरहेको छ ।

वैदेशिक काममा गएका दुखहरण कतारबाट फर्केर गाउँमै फर्निचन तथा किराना पसल खोलेका थिए । विदेशमा कमाएको रकम वचत नभएको भन्दै दम्पतीबीच बेलाबेलामा झगडा परिरहने प्रहरीले जनाएको छ ।

हरिहरदेवीले दुखहरणको हत्या गराउनको लागि गाउँकै एक लघुवित्तबाट ६० हजार रुपैयाँ ऋण लिई मुकेशलाई दिएको बुढाथोकीले बताए ।

दुखहरण र हरिहरदेवीका ४ छोराछोरी छन् ।