प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई दिए स्वीकृति
४ असोज, रौतहट । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयकलाई स्वीकृती दिएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृती गरेको हो ।
आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोकेका हुन् । बैठकमा प्रस्तुत विधेयक उपरको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।
उनले राजस्वमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक अर्थतन्त्रमा परिमार्जन गर्दै लगिने सरकारको नीतिअनुरुप बजेटमा सामान्य हेरफेर गरिएको जानकारी दिए ।
अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई मजबुद तुल्याउन कृषि, उद्योग प्रवद्र्धनका विषयलाई विधेयकले सम्बोधन गरेको बताए ।
यसअघि विनियोजन विधेयकलाई पारित गर्नुपूर्व सांसद प्रेम सुवालले रखेको खर्च कटौतीको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ७ गते अपराह्न २ः०० बजे बस्नेछ ।