रौतहटमा किसानहरुको विशाल प्रर्दशन
२३ भदौं, रौतहट । किसानहरुको समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै रौतहटका किसानहरु आन्दोलित भएका छन ।
कृषि पेशामा लागेकाहरुको समस्याका बारेमा कुनै पनि निकायले ध्यान नदिएको र दैनिक रुपमा किसानहरु पीडित हुनु परेको भन्दै हजारौंको सँख्यामा किसानहरुले आज रौतहटमा प्रर्दशन गरेका हुन ।
धानबालिको बेला बजारमा मलको चरम अभाव खेपिरहेका किसानहरुले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका हुन । रौतहटका बजारहरुमा यूरिया मलको अभाव भए पछि भारतीय बजारहरुबाट खेतिका लागी मलखाद ल्याउदा सिमानामा सुरक्षाकर्मीले खोसे पछि खेती गर्न असम्भव भएको किसानहरुले बताए ।
नेपाल सरकारले पर्याप्तमात्रामा कुनै पनि मलखादको व्यवस्था नगर्ने तथा कृषकले आफैले समेत अन्य मुलुकबाट ल्याउदा तस्करी गरेको भन्दै कारवाही भोग्नु पर्दा पीडित भएको किसानको दुखेसो छ । समयमा पानी नपर्ने, बालि लगाएपछि बाढी आउने, बालि हुर्कने बेला मलखाद नपाउने, बैंकले किसानलाई ऋृणमा झन्झट गर्ने तथा कृषियन्त्रहरु समेत महङ्गोमा खरिद गर्नु पर्ने अवश्थाकै कारण कर्यौ किसानहरुले बिस्तारै पेशा परिवर्तन गर्न थालेका छन ।
बजारमा सर्वसुलभ रुपमा कृषि मलको व्यवस्था, ट्रयाक्टरमा लाग्ने कर खारेज, कृषि बिमा, कृषि ऋृणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माँग गर्दै किसानहरुले आज गौरमा प्रर्दशन गरेका छन । सरकारले किसानका समस्याहरुको बारेमा ध्यान नदिदा दिनप्रतिदिन खाद्यान्न आपूर्तिको दर बढदै गएको तथा तराई मधेशका जग्गाहरुको उर्वराशक्ति तथा उत्पादनमा ह्रास आउन थालेको कृषकहरुले बताए ।
“किसानका समस्याका बारेमा केन्द्र र प्रदेश सरकारलाई पटक पटक अवगत गराए पनि कुनै सुनुवाई भएको छैन ।” प्रदेश सभा सदस्य कुशवाहाले भने “भन्सारको तथ्याङ्कले पनि हामी खाद्यान्नका लागी समेत अन्य मुलुकमा परनिर्भर हुनथालेको पुष्टी गर्छ ।”
सरकारले कृषि यन्त्रमा पनि राजश्व लगाएका कारण नेपाली बजारमा किसानले खेतीमा प्रयोग गर्ने ट्रयाक्टर महङ्गोमा किन्नु पर्ने तथा बैंकहरुले पनि किसानलाई कर्जा लगानी गर्न अनिच्छा देखाएका कारण किसानको पेशानै संकटमा परेको प्रदेश सभा सदस्य कुशवाहाले बताए ।
किसानहरुले आन्दोलनको पहिलो दिन आज रौतहटमा कृषियन्त्र सहित प्रर्दशन गरेका छन भने अन्य चरणका कार्यक्रमहरु गर्दै जाने आइटि किसान संर्घष समितिले जनाएको छ ।
सबै तस्वीर : प्रेम यादव