रौतहटमा ८७ ले लोकतान्त्रीक समाजवादी र ८४ जनाले एकीकृत समाजवादी रोजे

   २३ भाद्र २०७८, बुधबार १२:००  

२३ भदौं, रौतहट । जनप्रतिनिधिहरुलाई आफुले चाहेको पार्टी रोज्न निर्वाचन आयोगले दिएको समय सकिएको छ । निर्वाचन आयोगले भदौ २२ गते सम्मको समय जनप्रतिनिधिहरुलाई दिएको थियो ।

आयोगले दल रोज्न दिएको समयमा रौतहटमा नेकपा एमालेबाट निर्वाचित भएका ८४ जना जनप्रतिनिधि नयाँ गठन भएको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन । हिजो अन्तिम दिन सम्म नेकपा समाजवादीमा ८४ जनाले सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले बताए ।

रौतहटमा नेकपा एमालेबाट १ जना उपमेयर, १८ जना वडाअध्यक्ष सहित १ सय ५ जनाले विभिन्न पदमा चुनाव जितेका थिए । जस मध्ये ७ जनाको निधन भइसकेको छ ।

यसैगरी जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका ८७ जना जनप्रतिनिधिहरुले महन्ठ ठाकुरको अध्यक्षतामा नवगठित लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन ।

गौर नगरपालिकामा जसपाबाट निर्वाचित ३६ जना जनप्रतिनिधिहरु उपमेयर किरण ठाकुर बाहेक अन्य ३२ जना लोसपामा रहने गरी जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन ।