कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि खोप लगाउने

   ४ भाद्र २०७८, शुक्रबार १३:५८  

४ भदौँ, रौतहट । कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले शुक्रबादेखि १८ वर्ष पुगेका विद्यार्थीलाई खोप दिन थालेको हो ।

सामाखुशीको राधास्वामी आइसोलेसन सेन्टर, महाराजगञ्जको शिक्षण अस्पताल, बलम्बुको सशस्त्र प्रहरी बल अस्पताल, रत्नपार्कको वीर अस्पताल, थापाथलीको परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, बानेश्वरको निजामती कर्मचारी अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल र छाउनीको वीरेन्द्र सैनिक अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

उनीहरूलाई आजदेखि भेरोसेलको पहिलो डोज दिइँदैछ । विद्यार्थीहरुलाई परिचयपत्रका आधारमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने व्यवस्था गरिएको छ । आजदेखि सुरु भएको भेरोसेलको खोपको कार्यक्रम भदौँ ८ गते सम्म सञ्चालन हुनेछ ।

यस्तै, विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्रका आधारमा पनि १८ वर्षभन्दा माथिका विद्यार्थीलाई खोप लगाइँदै छ ।