साउन १ देखि नेपालमा अवैध मोबाइल बन्द हुदैं

   २२ असार २०७८, मंगलवार ११:३९  

२२ असार, रौतहट । सरकारले आँउदो साउन १ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भएको छ । यो सिस्टम लागु भएसँगै अब नेपालमा अवैध मोबाइलहरु माथि प्रतिबन्ध लाग्नेछ ।

नेपालमा हाल वैधानिक (ह्वाइट च्यानल) र अवैधानिक (ग्रे च्यानल) भएर अन्य देशबाट मोबाइल भित्रिरहेका छन् । त्यसबाहेक चोरी भएका तथा हराएका मोबाइललाई ब्ल्याक लिस्टमा राख्ने गरिएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ सिस्टमबाट ग्रे च्यानल भएर आएका तथा ब्ल्याक लिस्टमा राखिएका मोबइलमाथि प्रतिबन्ध लाग्ने जनाएको छ ।

वैधानिक रुपमा ल्याइएका मोबाइलहरुको आईएमईआई प्राधिकरणमा दर्ता हुने गरेको र दर्ता नभएका मोबाइल अवैध ठहरिने प्राधिकरणका सहायक प्रवक्ता अच्युतान्द मिश्रले बताए ।

‘बिक्रेताले मोबाइल आयात गर्नुअघि सम्बन्धित मोबाइलका लागि प्राधिकरणबाट टाइप अप्रभल सर्टिफिकेट लिनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसरी प्राधिकरणबाट आयातको स्वीकृति पाएका मोबाइलको आईएमईआई प्राधिकरणको सिस्टममा दर्ता हुने गर्दछ ।’

तर राजश्वको दायरामा नपर्ने गरी भित्रिएका मोबाइलमाथि कडाइ गर्न यस्तो नीति कार्यान्वयनमा ल्याउन लागिएको हो । यो सिस्टमले आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

अब विदेशबाट सिधै खरिद गरेर ल्याइएका मोबाइल प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् । विदेशबाट फर्किँदा साथमा ल्याउने आफ्नो मोबाइल र उपहारमा ल्याउने मोबाइलका लागि भन्सार विभागको नियमअनुसार एमडीएमएसमा दर्ताको व्यवस्था मिलाइएको छ ।

साथै यो सिस्टम कार्यान्वयन भएपछि हराएका तथा चोरी भएका मोबाइल आईएमईआई नम्बरका आधारमा फेला पर्न सहयोग पुग्ने विश्वास प्राधिकरणको छ ।

यसैबीच प्राधिकरणले मोबाइलको आईएमईआई दर्ता भएरनभएको हेर्ने र नरहेको खण्डमा अनलाइनबाटै दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।

आफ्नो मोबाइलको आईएमईआई नम्बर प्राधिकरणको सिस्टमा दर्ता भए नभएको पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस् । त्यसमा रहेको ‘नो योर डिभाइस’ भन्ने अप्सनमा जानुहोस् र आफ्नो मोबाइलको आईएमईआई नम्बर राखेर चेक गर्नुहोस् । नियामकका अनुसार हाल बजारमा रहेका करिब ९५ प्रतिशत मोबाइलको आईएमईआई दर्ता रहेको छ ।

एमडीएमएस सिस्टममा नियामकसँगै भन्सार, प्रहरी, मोबाइल सेवाप्रदायक र आयातकर्ता कम्पनीको पहुँच हुनेछ । मोबाइल किनेर सिम राखेपछि एमडीएमएसले ह्वाइट लिस्टमा भएका मोबाइललाई मात्र चल्ने अनुमति दिने सहायक प्रवक्ता मिश्रको भनाइ छ । ‘यदि मोबाइल ब्ल्याक लिस्टमा रहेछ भने त्यसमा सिमकार्ड राख्दा चल्दैन,’ उनले भने ।

खुला सीमाका कारण भारतबाट ग्रे च्यानल हुँदै मोबाइल सेटहरु नेपाल भित्रिने गरेका छन् । हाल त्यस्ता मोबाइल चलिरहेको भए पनि नयाँ सिस्टम सञ्चालनमा आएपश्चात त्यस्ता मोबाइल नचल्ने प्राधिकरणले जनाएको छ । यसरी मोबाइल भित्रिँदा राज्यलाई प्राप्त हुने राजस्व समेत गुम्दै गए पछि यो सिस्टम राख्न लागिएको हो ।