भारतले फाइभजी परीक्षणका लागि छुटै फ्रिक्वेन्सी दिने
१६ जेठ, राैतहट । भारतीय दूरसञ्चार विभागले फाइभजी परीक्षणका लागि सेवाप्रदायक कम्पनीहरुकाे फ्रिक्वेन्सी छुट्याएको छ ।
विभागले दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलुरु, गुजरात, हैदरावाद लगायत अन्य शहरहरुमा फाइभजी परीक्षणका लागि विभागले फ्रिक्वेन्सी उपलब्ध गराएको हाे ।
फाइभजी परीक्षणका लागि ७०० मेगाहर्ज व्याण्ड, ३.३-३.६ गीगाहर्ज ब्याण्ड र २४.२५-२८.५ गीगाहर्ज ब्याण्ड सेवाप्रदायकलाई विभिन्न स्थानअनुसार उपलब्ध गराएको भारतीय समाचार संस्थाकाे एक रिपोर्टमा उल्लेख छ ।
गत मे ४ तारिखमा विभागले रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया र एमटीएनएललाई फाइभजी परीक्षणको अनुमति प्रदान गरेको थियो । तर ती कम्पनीहरुमा चिनियाँ प्रविधिको प्रयोग नगरिकन नै फाइभजी परीक्षण गरिनुपर्ने हुनेछ ।
फाइभजी परीक्षण अन्तर्गत एरिक्सन, नोकिया, सामसङ र सी–डीओटीको प्रविधिले मात्र स्वीकृत पाएका छन् । कतिपय सेवाप्रदायकले आफैंले निर्माण गरेको प्रविधि प्रयोगमा ल्याउने समेत जनाएका छन् ।






