नागरिक एपको फुल भर्सन सार्वजनिक, लगईन गर्न सिम आफ्नै नाममा हुनुपर्ने
१९ वैशाख, रौतहट । सरकारले नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको छ । आज भएको आईसीटीको भर्चुअल मिटिङको क्रममा प्रधानमन्त्री ओलीले उक्त एप सार्वजनिक गरेका थिए ।
सबै सरकारी सेवा मोबाइल एपबाटै दिन उद्देश्यले यो एप सरकारले सार्वजनिक गरेको अधिकारीहरुले जनाएका छन् ।
यो एप प्रयोग गर्न आफ्नै नाममा सिम दर्ता भएको हुनुपर्ने बताइएको छ । अरुको नाममा रहेको सिम कार्ड प्रयोग गर्दा एप लगईन गर्न मिल्ने छैन । नेपाल टेलिकमले अरुको नाममा रहेको सिम आफ्नो नाममा नामसारी गर्न मिल्ने समेतको व्यवस्था गरेको छ ।
यस अघि सञ्चार तथा सूचना प्रविधिका मन्त्री पार्वत गुरुङले परीक्षणको रुपमा नागरिक एपको बेटाभर्सन सार्वजनिक गरेका थिए । बेटाभर्सनमै एपबाटै स्थायी लेखा नम्बर (प्यान) लिन सकिने सेवा रहेकोमा पछिल्लो समय पुलिस क्लियरेन्स रिपोट समेत लिन सकिने बनाइएको छ ।
यसका साथै एममा नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष र प्यानको विवरण हेर्न सकिने सुविधा पनि छ । त्यसै गरी पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रम समेत नागरिक एपमा जोडिएको छ ।
सुरुमा नेपाल टेलिकम र एनसेलको नम्बरबाट मात्र नागरिक एपमा खाता खोल्न सकिने अवस्था रहेकोमा पछिल्लो समय स्मार्ट टेलिकमको नम्बर समेत नागरिक एपमा जोडिएका छन् ।






