रौतहटमा ९१ संक्रमित, एकको मृत्यु

   १४ बैशाख २०७८, मंगलवार १५:१४  

१४ बैशाख, रौतहट । गएराति कोरोना संक्रमणका कारण रौतहटमा एक व्यक्तिको ज्यान गएको छ । संक्रमणका कारण गौर नगरपालिका वडा नं. २ का ७० वर्षिय एक वृद्धको ज्यान गएको हो ।

बैशाख ११ गते कोरोना संक्रमण पुष्टी भएका ती वृद्ध गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीमा होम आइसोलेसनामा रहेका थिए । दमका रोगी समेत रहेका वृद्ध संक्रमित भएको दुई दिन पछि उनको ज्यान गएको हो ।

रौतहटमा संक्रमण उच्च दरमा फैलिदा समेत सिमा नाकामा भएका हेल्थ डेस्कले प्रभावकारी काम गर्न सकेको छैन । गौर २ महादेवपट्टिमा रहेको हेल्थ डेस्ककै अगाडीबाट बिना चेकजाँच मान्छे नेपाल भित्रिरहेका समेत त्यहाँ खटिएका कर्मचारीले कुनै चासो देखाउदैनन ।

कहाँ कति छन संक्रमित ?

रौतहटका विभिन्न स्थानिय तहमा हाल ९१ जना कोरोना संक्रमितहरु रहेका छन । सबैभन्दा बढी संक्रमित सदरमुकाम गौरमा छन । गौर नगरपालिकामा २०, चन्द्रपुरमा १७, गरुडामा १०, माधवनारायणमा ७, दुर्गाभगवतिमा ६, कटहरीया ६, फतुवा विजयपुरमा ६ जना संक्रमित रहेका छन । यस्तै देवाही गोनाही, राजदेवी र यमुनामाईमा ३–३ जना, ईशनाथमा २ जना तथा परोहा, बौधिमाई, मौलापुर र गढीमाईमा १–१ जना संक्रमित रहेका छन ।

हाल सम्म रौतहटका ३ वटा स्थानिय तह वृन्दावन, राजपुर र गुजरा नगरपालिकामा संक्रमित भेटिएका छैनन । संक्रमित मध्ये ७० जना पुरुष र २१ जना महिला रहेका छन । रौतहटमा अन्य जिल्लाको ५ जना तथा नेपाल बाहिरका १ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले देखाउछ । संक्रमण पुष्टी भएका सबै आफ्नै घरमा क्वारेन्टीनमा बसेका छन ।

दोश्रो चरणको कोरोना संक्रमण रौतहटमा तिव्र गतिमा फैलिने क्रममा रहे पछि हालसम्म जिल्लामा सँस्थागत क्वारेन्टीन र आइसोलेसन संचालन हुन सकेको छैन । १६३ जनाको स्वाब परिक्षण गर्दा रौतहटमा ९१ जनामा संक्रमण पुष्टी भएको छ ।

जिल्लामा १० बेडको आइसियू, ४ वटा भेन्टीलेटर र १५ वटा एचडियू यूनिट बेड संचालनका लागी १८ वटै स्थानिय तहको सहयोग उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । यसका लागी प्रत्येक स्थानिय तहले गौर अस्पताल विकास समितीको खातामा ५ लाखका दरले रकम जम्मा गर्ने निर्णय भएको उनले बताए ।

कोरोनाको पहिलो चरणमा पनि पिसिआर ल्याब स्थापना तथा संचालनका लागी प्रत्येक पालिकाले ५ लाखका दरले रकम सहयोग गर्ने निर्णय भए पनि दुर्गाभगवति, चन्द्रपुर, मौलापुर, यमुनामाई, देवाही गोनाही र राजपुर नगरपालिकाले हालसम्म रकम जम्मा गरेका छैनन ।