नेपालमा थपिए ३१२२ कोरोना संक्रमित, २८ जनाको मृत्यु

   १२ बैशाख २०७८, आईतवार १७:०८  

१२ बैशाख, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा ९ हजार २ सय ९२ जनाको पीसीआर परीक्षाण गर्दा ३ हजार ३२ र ७ सय ८६ जनाको एन्टिजेन परीक्षणमा ९० गरेर जम्मा ३ हजार १ सय २२ जनामा संक्रमण पुष्टि भएको हो । योसैगै हालसम्म देशभर कोरोना संक्रमितहरुको कुल संख्या ३ लाख २ सय ९ पुगेको डा. गौतमले बताए । जसमध्ये हाल नेपालमा १९ हजार ३ सय ९२ संक्रमित उपचाररत रहेका हुन् ।

त्यस्तै, विगत २४ घण्टामा थप ४ सय ५० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससंगै हालसम्म देशभर कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यससहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ३ हजार १ सय ६४ पुगेको डा. गौतमले बताए ।