भारतमा ३ लाख भन्दा बढी संक्रमित, दिल्लीमा लम्बियो लकडाउन

   १२ बैशाख २०७८, आईतवार १७:००  

११ वैशाख, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा तिन लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार ३ लाख ४८ हजार ९ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाख भन्दा बढी संक्रमित भेटिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३१ जनाको कोरोना कारण मृत्यु भएको छ ।

कोरोना कारण सबभन्दा बढी भारतको महाराष्ट्र राज्यमा मृत्यु भएको छ । कोरोनाभाइरसबाट बितेको २४ घण्टामा २ लाख १५ हजार ८०३ जना संक्रमणमुक्त भएका छन् ।

नयाँ दिल्लीमा एक सता लम्बियो लकडाउन:

भारतको राजधानी नयाँ दिल्लीमा जारी लकडाउन फेरि एक सताको लागि लम्ब्याइएको छ । मुख्यमन्त्री केजरीवालले कोरोना संक्रमित बढे पछि नयाँ दिल्लीमा अगामी मे ३ सम्म लकडाउन बढाइएकोे घोषणा गरेका छन् । दिल्लीको अस्पतालमा अक्सिजनको अभावले गत हप्ताको बिहिबार र शुक्रबार गरी मात्र २ दिनमै ४५ जनाले ज्यान गुमाएका थिए ।