रौतहटमा घातक बन्दै ‘होम क्वारेन्टीन’

   ९ बैशाख २०७८, बिहीबार ११:३५  

९ बैशाख, रौतहट । कोरोनाको दोश्रो लहरले रौतहटमा हाल सम्म ३६ जनालाई संक्रमित बनाएको छ । बैशाख १ देखी ८ गते सम्मको तथ्याङ्कले रौतहटमा कोरोनाका नयाँ बिरामी प्रत्येक दिन थपिदै गएको देखाउछ ।

कोविड १९ को दोश्रो चरणले स्थानियलाई संक्रमित बनाइरहदा पहिलेको स्थानिय पालिकाहरुले पहिलेको जस्तो चासो र सर्तकता देखाएका छैनन । संक्रमितको सँख्या बढी रहदा रौतहटका कुनै पनि स्थानिय तहले हाल सम्म क्वारेन्टीन संचालन गरेको छैन ।

निर्धक्क बाहिर घुम्छन संक्रमित

संस्थागत क्वारेन्टीन संचालन नभए पछि संक्रमितहरु घरमै रहेका छन । आफ्नै घरमा स्वास्थ्य मापदण्ड पुरा गरेर क्वारेन्टीनमा बस्न जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई निर्देशन दिए पनि संक्रमितले भने त्यसलाई अटेर गरेका छन ।

रौतहटको सदरमुकाम गौरको भन्सार क्षेत्रमा मुख्य सडकसँगै जोडिएको एक घरमा क्वारेन्टीन बसेका एक संक्रमित बुधवार साँझ घर अगाडीको चिया पसलमा देखिए । कोरोना संक्रमित भएर होम क्वारेन्टीन बसेपछि अपनाउनु पर्ने न्यूनतम मापदण्डलाई समेत ती संक्रमितले पुरा गरेका छैनन । सार्वजनिक स्थानमा बसेका ती संक्रमितलाई केही बेर पछि सुरक्षाकर्मीले घर पठाएका थिए ।

आफू संक्रमित हुदाँ समेत व्यापार व्यवसायलाई निरन्तरता दिएका ती संक्रमितकै कारण गौर १ का उनका एक कर्मचारीमा समेत कोरोना पुष्टी भएको छ । संक्रमितको घरमा ओहरदोहर गर्ने व्यक्तिहरुका कारण समुदायनै उच्च जोखिममा परेको छ । संक्रमितहरु विभिन्न कामको लागी बैंक, बजार तथा भिडभाड हुने स्थानमा जाने गरेका छन ।

“मैले स्वंयम फोन गरेर ती संक्रमित व्यक्तिलाई घरबाट बाहिर ननिस्कनु भनेको थिए ।” गौर नगरपालिकाका मेयर अजय गुप्ताले भने “ती संक्रमित पटक पटक घर बाहिर निस्कीएको गुनासो आएको छ ।”

जिल्ला प्रशासन कार्यालयले रौतहटका सबै स्थानिय तहहरुलाई क्वारेन्टीन संचालन गर्न भने पनि कुनै पालिकाले पनि काम शुरु गरेका छैनन । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले प्रत्येक पालिकाहरुमा क्वारेन्टीन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

होम क्वारेन्टीनमा बसेकाहरुले अटेर गरेको गुनासो बढेकोले चाडैं स्थानिय तहहरुलाई समन्वय गरेर संस्थागन क्वारेन्टीन र आइसोलेसन शुरु गर्ने तयारी रहेको उनले बताए ।