नेपाली युवाहरुले बनाए बग बाउन्टी प्लेटर्फम
२ वैशाख, रौतहट । नेपालमा पहिलोपटक व्यवसायिक बग बाउन्टी प्लेटर्फम ‘बगभी‘ले सेवा थालेको छ । नेपाली कम्पनी साइनिकल टेक्नोलोजीले साइकर सुरक्षात्मक प्लेटर्फम विकास गरेर सार्वजनिक गरेको हो ।
अब विश्वभरका इथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्ताले ‘बगभी’मार्फत विभिन्न संस्था, कम्पनी र निकायका सिस्टम तथा सफ्टवेयरमा रहेका जोखिम पत्ता लगाउन सक्नेछन् । त्यसवापत कम्पनीले इथिकल ह्याकरलाई ‘रिवार्ड’ (पुरस्कृत) पनि गर्ने साइनिकल टेक्नोलोजीका संस्थापक नरेश लाम्गादेले बताए ।
‘संस्था, कम्पनी र निकायहरुले बग पत्ता लगाउने जिम्मेवारी दिन सक्छन्, बग फेला पारेमा इथिकल ह्याकरले बगभीको प्लेटर्फममार्फत रिपोर्ट गर्न सक्छन्,’ संस्थापक लाम्गादेले भने, ‘बगको प्रकृतिका आधारमा ह्याकरलाई निश्चित रकमसहितको रिवार्ड गरिनेछ ।’
यसले इथिकल ह्याकरलाई पनि आम्दानी हुने गरी बग पत्ता लगाउने ‘टास्क’ मिल्ने र सेवा लिने संस्था, कम्पनी र निकायहरुले पनि आफ्ना वेबसाइट, सफ्टवेयर लगायतको साइबर सुरक्षा पक्षको कमजोरी सहजै सुधार्ने अवसर पाउने उनले बताए ।
साइबर सुरक्षा अनुसन्धानकर्ताहरू भने विश्वभरबाट निःशुल्क रुपमा बगभी प्लेटर्फममा जोडिन सक्छन् । यसरी साइबर सुरक्षा कायम गराउन ह्याकरहरुले नेपालकै बग प्लेटर्फममार्फत बग पत्ता लगाउने प्रतिस्पर्धा गर्नेछन् ।






