मस्कको कम्पनीको अर्को चमत्कार, बाँदरले खेल्यो कम्प्युटरमा भिडियो गेम
३० चैत, रौतहट । अमेरिकी कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको कम्पनी न्युरालिंकले एउटा यस्तो भिडियो सार्वजनिक गरेको छ, जसले धेरैलाई आच्श्रर्यमा पारिदिएको छ ।
मस्कको कम्पनीले सार्वजनिक गरेको भिडियोमा एउटा बाँदर स्वयम बिना मानिसको सहयतालेनै भिडियो गेम खेलिरहेको देख्न सकिन्छ । एउटा बाँदर भिडियो गेम पोंग खेलिरहेको न्युरालिंकको भिडियो मस्कले ट्वीटरमा सेयर गरेका छन् ।
न्युरालिंक एउटा यस्तो कम्पनी हो जसले प्रत्यारोपणयोग्य मस्तिष्क मेसिन इन्टरफेसको विकास गरिरहेको छ जसले मानिसको मस्तिष्कलाई कम्प्युटरसँग जोड्नेछ ।
नौ वर्षको पेजर नामक उक्त बाँदरले यो भिडियो खिच्नुभन्दा झण्डै ६ हप्ताअघि न्युरालिंकको मेसिन प्रत्यारोपण गरिएको थियो ।
पेजरलाई सुरुमा जोएस्टिकको सहायताले अनस्क्रिन गेम खेल्न सिकाइएको भिडियोबाट प्रष्ट हुन्छ । पेजरले भिडियो गेममा रंगिन वर्गहरुलाई सार्नका लागि जोए स्टिकको प्रयोग गरेको भिडियोमा देख्न सकिन्छ ।केही छिनपछि कम्प्युटरबाट जोएस्टिक हटाइन्छ तर पेजरले चाहिँ आफ्नै दिमागले पोंग गेमलाई निरन्तरता दिएको हुन्छ ।